भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसहित सातजना विरुद्ध मुद्दा दायर, पूर्वगृहमन्त्री रमेश लेखक लगायतमाथि छानबिन जारी

Dec 11, 2025 05:23 PM mero lagani



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख एवं सहसचिव तिर्थराज भट्टराई सहित सातजना  विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले मुख्य प्रतिवादी सहसचिव भट्टराईविरुद्ध करिब ७९ लाख रुपैयाँ बिगो दाबी गरेको छ।त्यस्तै सोही अभियोगमा मुछिएका तत्कालिन गृहमन्त्री रमेश लेखकसहित तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालिन महानिर्देशक तथा शान्ति सुरक्षा हेर्ने महाशाखा प्रमुख रामचन्द्र तिवारी, लेखकका निजी सचिव बद्री तिवारी, स्वकीय सचिव जनक भट्ट लगायतमाथि अनुसन्धान भइरहेको जनाएको छ ।

अख्तियारले विहिबार विशेष अदालतमा दायर गरेको अभियोगपत्र अनुसार, तत्कालीन सहसचिव तिर्थराज भट्टराई, अधिकृत यज्ञराज अर्याल, ग्रिनलाइन होलिडेका अध्यक्ष बालकृष्ण खड्का, फेमिलि होलिडेका सञ्चालक दिपक भण्डारी, ग्रिनलाइन सञ्चालक राम खड्का, सहायक कविता पौडेल, जग्गा कारोबारी खेम सुवेदीलाई प्रतिवादी बनाइएको छ ।


भिजिट भिसामा विदेश जाने नेपालीहरुसँग अवैध रुपमा असुली धन्दा चलाएको आरोपमा अख्तियारले २०८१ चैत ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै भट्टराईलाई पक्राउ गरेको थियो ।