शेयर बजारमा 'सेन्चुरी' गिरावटपछि अर्थमन्त्री वाग्लेको आश्वासन: 'बाचा पत्र अनुसारै काम हुन्छ, नआत्तिनुहोस्'

Mar 31, 2026 02:53 PM Merolagani



शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि लगानीकर्ताको एक समूहले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर बजारको अवस्थाबारे ध्यानाकर्षण गराएको छ। 

सक्रिय लगानीकर्ता रोहन कार्कीको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री वाग्लेलाई भेटी बजारमा देखिएको अनपेक्षित गिरावटका कारण लगानीकर्ता अत्तालिएको जानकारी गराएको हो।

भेटमा अर्थमन्त्री वाग्लेले लगानीकर्तालाई नआत्तिन र संयमित हुन आग्रह गरे। अर्थमन्त्रीको भनाइ उद्धृत गर्दै कार्कीले भने, 'अहिले सरकारले जे जति काम गरिरहेको छ, ती सबै राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन पूर्व आफ्नो बाचा पत्रमा उल्लेख गरेका विषयहरू नै हुन्। त्यसबाहेक अन्य नयाँ वा फरक काम थालिएको छैन। बाचा पत्रमा शेयर बजारको विकासका लागि स्पष्ट मार्गचित्र कोरिएको छ र ती सबै बुँदा अक्षरशः पालना हुनेमा निश्चित हुन म लगानीकर्तालाई आग्रह गर्छु।'

वाग्लेले शेयर बजारको सुधारका लागि के गर्नुपर्छ भन्ने विषय पहिले नै तय भइसकेको भन्दै व्यवसायी वा लगानीकर्तालाई तर्साउने काम यो सरकारले नगर्ने स्पष्ट पारे।

अर्थमन्त्री वाग्लेसँग भेट गर्ने टोलीका नेता रोहन कार्की शेयर बजारका पुराना लगानीकर्ता र पेसाले इन्जिनियर हुन्। उनले यसअघि शेयर बजार सुधारका लागि संघर्ष समितिको संयोजक बनेर काम गरिसकेका छन्। रास्वपामा आबद्ध कार्कीले निर्वाचनमा प्रधानमन्त्री शाहलाई जिताउन सक्रिय भूमिका निर्वाह गरेका थिए। अर्थमन्त्रीको आश्वासनपछि अब लगानीकर्ताहरूले सरकारले शेयर बजारका पक्षमा गर्ने ठोस निर्णय र नीतिगत स्पष्टताको प्रतीक्षा गरिरहेका छन्।

नयाँ सरकार गठनसँगै शेयर बजारले माथिल्लो यात्रा तय गर्ने लगानीकर्ताको अनुमान विपरीत बजारमा ठुलो गिरावट देखिएको छ। साताको पहिलो दिन आइतबार ७१.०६ अंकले घटेको नेप्से परिसूचक सोमबार थप ४७.७१ अंक (१.६५ प्रतिशत) ले ओरालो लाग्दै २८३१.३९ विन्दुमा थामिएको छ। दुई कारोबार दिनमा नै बजारले ११८.७७ अंक गुमाएको छ, जसलाई बजारको भाषामा घटेर 'सेन्चुरी' मारेकाको रुपमा लिइएको छ।

बजार यसरी एकाएक घट्नुमा राजनीतिक घटनाक्रम र सरकारको कार्यशैलीलाई मुख्य कारण मानिएको छ। प्रधानमन्त्री बालेन शाह नियुक्त भए लगत्तै सरकारले पूर्व प्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेकपा एमालेका कार्यकर्ता सडक आन्दोलनमा उत्रिएका छन्। यसले मुलुक मुठभेड तर्फ जाने र राजनीतिक अस्थिरता बढ्ने डरले लगानीकर्ताहरू शेयर बिक्री गरेर 'पर्ख र हेर' को स्थितिमा पुगेका हुन्।

यसै बिचमा सरकारले सार्वजनिक गरेको सुशासन सम्बन्धी १०० बुँदे योजनामा शेयर बजारको विषय नपरेपछि लगानीकर्ता थप चिन्तित बनेका छन्। सरकार शेयर बजार प्रति संवेदनशील नरहेको भ्रम फैलिएको र योजनाको ४५ नम्बर बुँदामा रहेको विषयलाई बजार विरोधी भनेर प्रचार गरिएकाले पनि लगानीकर्ता अत्तालिएको विश्लेषण गरिएको छ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।