राष्ट्रपति रामचन्द्र पौडेलले संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा चैत १६ गते आजका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका थिए।
बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन गर्नेछन् भने मन्त्रिपरिषद् गठनबारे जानकारी पनि दिनेछन्। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठक सञ्चालनका लागि आवश्यक सम्पूर्ण भौतिक, सुरक्षा, प्राविधिक तथा जनशक्ति तयारी पूरा भइसकेको छ।
संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक भने संघीय संसद् सचिवालयस्थित राष्ट्रियसभा कक्षमै बस्नेछ।
आजको बैठकमा अधिवेशन प्रारम्भको अवसरमा विभिन्न दलका नेताहरूले मन्तव्य राख्ने कार्यसूची रहेको छ। यस क्रममा रास्वपाका सभापति रवि लामिछाने, एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल, नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्ड, श्रम संस्कृति पार्टीका हर्क साम्पाङ तथा राप्रपाका ज्ञानबहादुर शाहीले सम्बोधन गर्नेछन्। नेपाली कांग्रेसका तर्फबाट भने सम्बोधन गर्ने नेताको नाम अझै तय भएको छैन।
बैठकमा तीनवटा अध्यादेश पनि पेस गरिने सम्भावित कार्यसूची छ। गृहमन्त्रीले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ प्रस्तुत गर्ने तयारी गरिएको छ।
यसै बैठकबाट सभामुख निर्वाचनको तालिका सार्वजनिक गरिनेछ। यसअघि बसेको सर्वदलीय बैठकले चैत २२ गते सभामुख निर्वाचन गर्ने सहमति जुटाइसकेको छ। सोहीअनुसार ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार सभामुख पदको निर्वाचन मिति तोक्नेछन्।
बैठकको अन्त्यमा पूर्व संविधानसभा सदस्य तथा राष्ट्रियसभा सदस्यहरू ऋषिकेश गौतम, मोहम्मद आफताव आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र बलदेव बोहोराको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गरिने कार्यक्रम पनि तय गरिएको छ।