सोपान फर्मास्यूटिकल्सको आईपीओ निष्काशन मिति परिवर्तन

Apr 08, 2026 08:45 AM Merolagani



सोपान फर्मास्यूटिकल्सले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको आईपीओको निष्काशन मिति परिवर्तन भएको छ। २०८३ बैशाख २ गतेदेखि ६ गतेसम्म (छिटोमा) आईपीओ निष्काशन गर्न लागेको यस कम्पनीले अब बैशाख ३ गतेदेखि निष्काशन खुला गर्ने भएको छ।

नेपाल सरकार, गृह मन्त्रालयको सूचनाबाट सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा शनिबार र आइतबार बिदा हुने भएकोले निष्काशन मिति परिवर्तन गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने ४ लाख २९ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यस्तै, कम्पनीले १ लाख ७१ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र २ लाख १४ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकेको छ।

अब भने कम्पनीले दोस्रो चरणमा बाँकी रहेको ३४ करोड ७४ लाख ९० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। सर्वसाधारण लगानीकर्तालेले २०८३ बैशाख ८ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि बैशाख १७ गतेसम्म लम्बिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ८.११ वर्ष रहेको छ भने डिस्काउण्ट लगानी फिर्ता हुने अवधि ११.३५ वर्ष रहेको छ। कम्पनीको खुद वर्तमान मूल्य १५ अर्ब ९७ करोड ५९ लाख ३९ हजार २५७ रुपैयाँ रहेको छ भने आन्तरिक प्रतिफल दर २३.६३ प्रतिशत रहेको छ।




मेरोलगानीको 'नयाँ वर्षको धमाका अफर'

Apr 10, 2026 08:50 AM

नजिकिँदै गरेको नयाँ वर्ष २०८३ को अवसरमा मेरोलगानीले शेयर बजारका लगानीकर्ताहरुका लागि नयाँ अफर लिएर आएको छ। सो अवसरमा मेरोलगानीले आफ्ना सबै प्रिमियम प्रडक्टहरुमा २५ प्रतिशतको डिस्काउन्ट दिने भएको छ।