अक्षय तृतियाको पूर्व सन्ध्यामा भारतमा सुन आयात ठप्प, भारतीय बजारमा सुन अभाव हुन सक्ने

Apr 17, 2026 02:54 PM mero lagani



भारतमा दिपावलीपछि सबैभन्दा धेरै सुन चाँदीलगायतका धातुजन्य वस्तुहरुको कारोबार हुने पर्वको रुपमा रहेको अक्षय तृतियाको पूर्व सन्ध्यामा भारतीय बैंकहरुले सुनको आयात रोकेका छन् ।

हिन्दू धर्मावलम्बीहरुले विशेष महत्वका साथ मनाउने अक्षय तृतिया पर्व यस पटक बैशाख ७ गते सोमबार परेको छ ।

सुन चाँदी आयात रोके पनि भारतको केन्द्रिय बैंक, रिजर्भ वैंक अफ इण्डिया (आरविआई) र मातहतका बैंकहरुले औपचारिकरुपमा भने कुनै निर्णय सार्वजनिक गरेका छैनन् । अर्थात् अनौपचारिकरुपमा सुन चाँदी रोकेका छन् । सरकारले सुन आयातका लागि थप कुनै औपचारिक आदेश जारी गरेको छैन । यसले बैंकहरुले सुन आयात बन्द गर्नुमा सरकारको पनि साथ रहेको आशंका गरिएको छ । सुन आयात बन्द भएसँगै भारतीय बजारमा सुन अभाव हुन सक्ने सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

भारत चीन पछि विश्वकै सबैभन्दा ठूलो सुन चाँदी खपत गर्ने देश हो । भारतमा वार्षिक खर्बाै रुपैयाँको सुन चाँदी कारोबार हुने गर्छ । वल्र्ड गोल्ड काउन्सिलका अनुसार भारतले गत वर्ष सन् २०२५मा ७१० टन सुन खरिद गरेको थियो, जुन पाँच वर्षयताकै न्यून हो । भारतले सबैभन्दा धेरै अर्थात कुल मागको करिब ४०% सुन स्विट्जरल्याण्डबाट आयात गर्छ ।त्यसपछि युएई र दक्षिण अफ्रिका प्रमुख स्रोतहरू हुन् ।

भारतमा नयाँ आर्थिक वर्षको सुरुवात अप्रिल १ मा हुने गर्छ । त्यस लगत्तै वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी)ले आदेश जारी गर्ने गरेको छ । यसमा आरबीआईले सुन र चाँदी आयात गर्न अनुमति दिएका बैंकहरूको सूची दिन्छ। अघिल्लो आदेश अप्रिल २०२५ मा जारी गरिएको थियो र अघिल्लो आर्थिक वर्षको अन्तिम दिन मार्च ३१ मा मान्य थियो । तर यसपटक नयाँ आर्थिक वर्ष शुरु भएको २ साता भन्दा लामो समय वितिसक्दा पनि बैंकहरू अब डीजीएफटीले त्यस्तो आदेश जारी गरेको छैन, न त सुन आयात गर्नको लागि वैंकहरुलाई कोटा र सूची नै दिएको छ ।

सुन आयातको लागि बैंकहरुलाई कोटा किन तोकिएको छैन ? भन्ने बारेमा डीजीएफटीले कुनै प्रतिकृया दिएको छैन । अनौपचारिकरुपमा संस्थाका अधिकारीहरुले मन्त्रालय नै यसबारेमा मौन रहेकोले आफूहरु केही गर्न सक्ने अवस्थामा नरहेको बताएका छन् ।

इन्डिया बुलियन एण्ड ज्वेलर्स एसोसिएसनका अनुसार भन्सार क्लियरेन्सका लागि ५ टनभन्दा बढी सुन विभिन्न भन्सार कार्यालयहरुमा रहेका छन् । तर, सरकारबाट अनुमति नपाउँदा क्लिरियन्स प्रकृया नै रोकिएको छ र त्यो सुन अलपत्र छ ।

इन्डिया बुलियन एण्ड ज्वेलर्स एसोसिएसनका सचिव सुरेन्द्र मेहता सरकारले आयातको लागि बैंकहरुमार्फत कोटा निर्धारणमा गरेको ढिलाईको कारण सुनचाँदीको कारोबार अन्योलमा परेको बताए । ‘सरकारले किन वास्ता गरेको छैन, हामीले बुझेका छैनौं । यसबाट उपभोक्ता मात्र होइन, व्यवसायीहरु पनि अन्योलमा परेका छौं । यस्तो अवस्था केही दिन रहे भारतको सुन बजार थप अनिश्चित हुनेछ,’ उनी भन्छन् ।

उनले इरान तथा अमेरिका र इजरायल युद्धको कारण सरकारले सुन चाँदीलगायतका धातुजन्य वस्तुहरुको आयातको लागि कोटा निर्धारण गर्न मलमल गरेको हो कि भन्ने अनुमान आफूहरुले गरिरहेको बताए ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।