शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेको पनौती–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा पुगेर लाइसेन्स छाप्ने व्यवस्था लागू गरे ।
मन्त्री तिमिल्सिनाले लामो समयसम्म लाइसेन्स नपाउने समस्या अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै बाँकी सबै लाइसेन्स आगामी असार मसान्तभित्र छापिसक्ने लक्ष्य लिइएको बताए। ‘अब सम्भव काम रोकिने छैन, सेवाग्राहीले छिटो सेवा पाउनेछन्। लामो समय देखि लाइसेन्स नपाउने समस्या अब अन्त्य भएको छ,’ उनले भने।
निरीक्षणका क्रममा उनले सुरक्षण मुद्रण केन्द्रलाई प्रभावकारी र सक्षम संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। विगतमा आवश्यक इच्छाशक्ति र व्यवस्थापन अभावका कारण काम ढिला भएको उल्लेख गर्दै अब ती समस्या समाधान गर्दै अघि बढ्ने तिमिल्सिनाको भनाइ थियो।
अर्बौँ रकम खर्च गरेर खरिद गरिएका उपकरण लामो समयदेखि थन्किएकोमा तिनलाई सञ्चालनमा ल्याउन मन्त्रालयले पहल गरिएको पनि उनले जानकारी दिए। केन्द्रमा करिब एक अर्ब रुपैयाँ बराबरका उपकरण प्रयोगविहीन हुनु दुःखद रहेको भन्दै अब त्यसको प्रभावकारी उपयोग गरिने बताए।
उनले केन्द्रलाई नागरिकको डाटा सुरक्षालाई प्राथमिकतामा राख्न र सेवाग्राहीमैत्री सेवा दिन निर्देशन दिए। त्यस्तै सरकार जनताको सेवाका लागि काम गरिरहेको उल्लेख गदै सेवा प्रवाहमा देखिएका गुनासा छिटो समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनले स्पष्ट पारे।