आफ्नै मन्त्री र हाकिमसँग बोल्न पनि डराउँछन् कर्मचारी, प्रशासनमा ‘माघ १९ भन्दा पनि’ डरलाग्दो अवस्था

Jun 10, 2026 10:25 AM Merolagani



‘मन्त्रीज्यूले केही सुझाव मागेपछि मैले सहसचिवहरु र केही उपसचिवहरुलाई बोलाएर कामलाई प्रभावकारी बनाउन के गर्ने होला भनेर सोधेको थिएँ । 

कसैले पनि सुझाव दिएन, तपाई जे गर्नुहुन्छ, हामीले केही भन्दैनौ भनेर धेरै जना पन्छिए । जागिरे जीवनको झण्डै ३ दशकमा मैले पहिलो पटक यस्तो महसुस गरें,’ एक जना सचिवले मंगलबार विहान मेरोलगानीसँग भने ।

उनकाअनुसार नयाँ सरकार बनेपछि र उसले लिएका केही नीतिहरुको कारण कर्मचारीहरु झस्किएका थिए । त्यसमाथि गत साता प्रधानमन्त्रीलाई एसएमएस गरेकै आधारमा सचिव कृष्णहरि पुस्करलाई केही घण्टा हिरासतमा राखिएपछि त उच्च पदस्त कर्मचारीहरु थप आतंकित भएका छन् । ‘यहाँ त कसैसँग केही बोल्नै नहुने भयो, कुनै सन्देश नै आदान प्रदान गर्न नहुने भयो, त्यसकै आधारमा को कतिबेला पक्राउ पर्छ वा नसिहत भोग्छ भन्ने नै थाहा नहुने अवस्था छ । यस्तो भएपछि कर्मचारीहरुले कसरी काम गर्छन् ?’ ती सचिवले भने ।

उनकाअनुसार मन्त्रीहरु नै आफूलाई सर्वज्ञाता ठान्ने र केही सुझाव दिए वा प्रकृयाको कुरा उठाए ‘तँ कुन पार्टीको झोले होस्, हामीले भनेको नमान्ने’ भन्ने गर्छन् । त्यसले गर्दा पनि मन्त्रीहरुलाई सुझाव दिने वा तर्क वितर्क गर्ने अवस्था नरहेको ती सचिवको भनाई छ ।

‘मन्त्रीसँग मात्र होइन, उनको टिमसँग अलिकति छलफल गर्ने हो र हाम्रो कुरा चित्त बुझेन भने तँ कांग्रेसको झोले होस् कि एमालेको भनेर झम्टिहाल्छन् । अनि कसरी सहज वातावरण हुन्छ ? छलफल र काम कसरी हुन्छ ? अहिले हरेक मन्त्रालयमा तैं चुप मै चुपको अवस्था छ,’ गृहमन्त्रालयका एक अधिकारीले मेरोलगानीसँग भने ।

 

उनकाअनुसार राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा अर्थात् २०६१ माघ १९ पछि २०६३ बैशाख ११ गतेसम्मको अवधिमा पनि कर्मचारीमा एक खालको त्रास थियो । राजा र राजपरिवारको नाममा मन्त्री र उनीहरु आसपासका व्यक्तिहरुले अनेक किसिमका जायज—नाजायज काम गर्न दवाव दिन्थे । तर, त्यतिबेला सिधै राजदरवारको सचिवालयमा श्री ५ लाई सम्वोधन गरेर पनि गुनासो गर्न पाइन्थ्यो, उजुरी दिन पाइन्थ्यो । ती उजुरीहरुको आधारमा दरवारले नै छानबिन पनि गर्दथ्यो । तर, अहिले त्यस्तो छैन । कर्मचारीहरुले कतै गुनासो गर्ने वा आफ्नो भनाई राख्ने ठाँउ नै छैन । उतिबेला राजालाई बरु भेट्न सहज रहेको र उनले बरु अरुको प्रतिकृया लिने गर्दथे । तर, अहिले त प्रधानमन्त्री शाहले आफ्नो सानो घेरा बाहेक अरुको कुरै नसुन्दा र हरेक कर्मचारीलाई ‘कांग्रेस, एमालेको झोले’ देख्दा कर्मचारीतन्त्रमा उकुस मुकुसको वातावरण बढेको छ ।

प्रधानमन्त्री, मन्त्रीको नाम लिएर सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसददेखि कार्यकर्तासम्मले कर्मचारीहरुलाई दवाव दिने गरेका छन् । तर उनीहरुको दवावलाई ‘क्रस चेक’ गर्ने माध्यम वा आधार नै छैन ।

‘राष्ट्रपति—उपराष्ट्रपतिलाई गुहारौं, त्यसको कुनै अर्थ छैन । प्रधानमन्त्रीलाई गुहारौं, भेट्न पाइदैन । अरु कुनै माध्यमबाट सम्पर्क गरौं, जेल जानुपर्छ कि भन्ने डर । अस्तिको काण्ड (कृष्णहरि पुस्कर काण्ड) पछि त कसैसँग नबोल्ने, आफू नफस्ने अवस्थामा मन्त्रीका आदेश पालना गर्ने र आफू फस्ने अवस्थामा राजिनामा दिएर हिंड्नुको विकल्प रहेन । कर्मचारी प्रशासनमा रहेको आतँकको बीचमा कर्मचारीले कुन हिसाबले दक्षतापूर्वक काम गर्छ र सरकारलाई सफल हुन्छ ?’ गृहमन्त्रालयका ती अधिकारी भन्छन् ।

कर्मचारीहरुले विर्सन नसकेका सचिव दिनेश प्याकुरेल

कर्मचारी तन्त्रमा ‘माघ १९ को भूत’ जागिरहँदा उच्च पदस्थ कर्मचारीहरुले सबैभन्दा धेरै स्मरण गरिरहेको नाम हो—दिनेश प्याकुरेल । त्यतिबेला भौतिक योजना मन्त्रालयको सचिव रहेका प्याकुरेल त्यतिबेलाका काविल सचिवहरु मध्ये एक मानिन्थ्यो र भावी मुख्यसचिवको रुपमा उनी चर्चित थिए । उनी देशकै काबिल इन्जिनियर मध्ये एक मानिन्थे ।

तर, २०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले बहुदलिय व्यवस्थामाथि कू गरेर सत्ता हातमा लिए । त्यसपछि उनले राजनीतिक पार्टीहरुका नेताहरुले गरेको भ्रष्टाचार छानबिन गर्ने भन्दै विभिन्न अभियान शुरु गरे । भक्तबहादुर कोइरालाको नेतृत्वमा उच्च स्तरिय शाही आयोग गठन गरियो भने चौध वटै अंचलमा दौडाहा टोली पनि खटाइयो । त्यही क्रममा शाही आयोगले मेलम्ची खानेपानी आयोगमा भ्रष्टाचार भएको भन्दै तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा र भौतिक योजना मन्त्री प्रकाशमान सिंहलाई पक्राउ गर्यो । बहालवाला सचिव प्याकुरेल माथि पनि छानबिन भइरहेको भन्दै ‘आजै पक्राउ गरिन्छ—भोली पक्राउ गरिन्छ’ भन्दै हल्ला चलाइयो ।

त्यो हल्ला यति फैलियो कि सचिव प्याकुरेल मानसिकरुपमा विछिप्त भए र आत्महत्या गरे । कुनै मानिसलाई ‘नखाएको विष लाग्दा’ वा कर्मचारी प्रशासनलाई अनावश्यक दवाव दिँदाको परिणाम कस्तो हुन्छ भन्ने दृष्टान्तको रुपमा प्याकुरेलको आत्महत्यालाई लिइन्छ । ‘त्यस्तो घटना सम्झिनु पर्ने घटना होइन तर परिस्थिति जसरी विकास हुदैँछ र कर्मचारीतन्त्रमा जसरी मानसिक त्रास सृजना गरिदैंछ, धेरै मानिसहरुले फेरि दिनेश प्याकुरेललाई सम्झिरहेका छन्’ एक जना सचिव भन्छन् ।




मन्त्रिपरिषद् बैठकले गर्याे चार निर्णय

Jun 09, 2026 12:42 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।