नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री डा. वाग्ले

Jun 10, 2026 02:44 PM Merolagani



अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठूलो वित्तीय अपराधबारे छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो छ्याप्ने प्रयास भइरहेको बताएका छन्।

प्रतिनिधि सभाको अर्थसमितिमा बोल्दै उनले उक्त प्रकरणमा संलग्न व्यक्तिहरू चाँडै नै न्यायको कठघरामा पुग्ने बताए । उनले देशको राजनीति र राजनीतिक दलहरूलाई विकृत बनाउने गतिविधिमा संलग्न समूहहरू अझै सक्रिय हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन् । वाग्लेकाअनुसार हाल केही विषयलाई मात्र उचालेर सरकारलाई कमजोर बनाउने प्रयास भइरहेको छ । सुशासनको नारा लिएर आएको सरकारमाथि आधारहीन आरोप लगाएर हिलो छ्याप्ने प्रयास भइरहेको उनको आरोप छ ।

अर्थमन्त्री वाग्लेले करका दरहरुबारे लगाइएका आरोपहरू कुनै ठोस आधारविना आएको दाबी गर्दै ती प्रारम्भिक अवस्थामै खण्डित हुने प्रकृतिका रहेको बताए । उनले सरकार सुशासन कायम गर्न दृढतापूर्वक अघि बढिरहेको उल्लेख गर्दै नियतमा कुनै कमजोरी नरहेको स्पष्ट पारे ।

अर्थमन्त्री वाग्लेले भने–‘नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको अहिले छानबिन चलिरहेको छ । त्यसमा संलग्न, देशलाई मुठ्ठीमा लिएर सिंगो राजनीति र राजनीतिक दलहरूलाई विकृत बनाउने पात्रहरू चाँडै नै न्यायको कठघरामा पुग्नेछन् । उनीहरूले संरक्षण दिएका र उनीहरूको आश्रयमा रहेका समूहहरू कतै यसमा सलबलाइरहेका त छैनन् भन्ने विषयमा ध्यान दिनु आवश्यक छ । किन एउटा मात्रै विषयलाई बारम्बार उचालिँदै छ ? धेरैले राम्रो भनेको बजेट ल्याएको सरकार र अर्थमन्त्रीमाथि कुनै आधारबिना, कुनै प्रमाणबिना आरोप लगाइएको छ । जुन सरकार सुशासनको नारा लिएर आएको छ र सुशासनका लागि कडाइका साथ अघि बढिरहेको छ, त्यसैलाई लक्षित गरेर हिलो छ्याप्ने प्रयास गरिएको छ । यसप्रति माननीय सदस्यज्यूहरू सचेत रहनुहोला, किनकि हिलो छ्यापिएपछि जति धोए पनि केही दाग बाँकी रहन सक्छ । म ढुक्क छु, गल्ती गरिएको छैन, नियत पूर्ण रूपमा ठीक छ । लगाइएका आरोपहरू प्रथम दृष्टिमै खण्डित हुने खालका छन्, प्राइमा फेसि नै । तर सेतो कपडामा हिलो छ्यापेपछि केही न केही दाग बाँकी रहन सक्छ । त्यो दाग बाँकी रहोस्, छवि केही हदसम्म भए पनि धुमिल बनोस्, र सरकारलाई कमजोर बनाउने प्रयास सफल होस् भन्ने उद्देश्यले नै यस्तो प्रहार गरिएको हो कि भन्ने आशंका गर्न सकिन्छ ।’

सेतो कपडामा हिलो छ्यापेपछि केही दाग बाँकी रहनसक्ने उदाहरण दिँदै उनले त्यसै प्रकारले सरकारको छवि धुमिल पार्ने उद्देश्यसहित गलत प्रचार भइरहेको हुन सक्ने आशंका पनि व्यक्त गरे ।




मन्त्रिपरिषद् बैठकले गर्याे चार निर्णय

Jun 09, 2026 12:42 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।