अमेरिका–इरान द्वन्द्वका कारण २६ हजार भारतीय उडान प्रभावित

Jul 24, 2026 06:54 AM RSS



अमेरिका–इरानबीचको जारी द्वन्द्वले भारतको अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रलाई गम्भीर रूपमा प्रभावित बनाएको छ। भारतको संघीय सरकारका अनुसार युद्ध सुरू भएदेखि जुलाई २० तारिखसम्म करिब २६ हजार उडानहरू प्रभावित भएका छन्।

उडान मार्ग परिवर्तन गर्नुपर्दा र उडान अवधि लम्बिँदा सञ्चालन खर्च बढेको कारण भारतीय वायुसेवा कम्पनीहरूलाई ठूलो राजस्व घाटा भएको सरकारले जनाएको छ।

यो जानकारी भारतीय संसद्को तल्लो सदन (लोकसभा) मा संघीय उड्डयनमन्त्री मुरलीधर मोहोलले दिएका हुन्।

उनले भने, ‘मध्यपूर्वमा द्वन्द्वबाट उत्पन्न जोखिमलाई ध्यानमा राख्दै भारतको नागरिक उड्डयन नियामक निकायले यात्रु, चालक दल र विमानको सुरक्षाका लागि धेरै पटक सुझाव जारी गरेको छ।’

सरकारले उड्डयन क्षेत्रलाई सहयोग गर्न र हवाई यात्रालाई किफायती राख्न विभिन्न कदम चालेको उनले बताए। यात्रुहरूलाई कमभन्दा कम असुविधा होस् भन्नका लागि सरकारले २४ घण्टा सञ्चालन हुने यात्री सहायता नियन्त्रण कक्ष स्थापना गरेको, एयरलाइन्सलाई रिफन्ड र पुनः तालिका मिलाउन निर्देशन दिएको, विमानस्थलका सहायता कक्षलाई सक्रिय एवं बलियो बनाएको र प्रभावित भारतीय नागरिकहरूलाई सहयोग गर्न परराष्ट्र मन्त्रालयसँग समन्वय गरेको उनले बताए।