टाटाको नयाँ ‘नेक्सन ईभी रिलोडेड’ सार्वजनिक, नाडामा विशेष छुटसहित ४२.९९ लाखमै पाइने

Aug 25, 2026 12:27 PM Merolagani



नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले बहुप्रतिक्षित एसयूभी ‘नेक्सन ईभी’ को अपडेटेड भर्सन नेपाली बजारमा भित्र्याएको छ।

कम्पनीले नाडा अटो शो २०२६ को अवसर पारेर ‘नयाँ नेक्सन ईभी रिलोडेड’ को बिक्री सुरु गरेको हो। कम्पनीले नयाँ नेक्सन ईभीको सुरुवाती मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकेको छ। यद्यपि, नाडा अटो शोको विशेष अफर अन्तर्गत १ लाख रुपैयाँ छुट प्रदान गरिएकाले ग्राहकले यसलाई ४२ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन्।

नयाँ नेक्सनमा ४५ किलोवाट आवर क्षमताको अत्याधुनिक ‘प्रिज्म्याटिक ब्याट्री’ प्रयोग गरिएको छ। यस ब्याट्रीले एक पटकको फुल चार्जमा ३७५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ। गाडीमा ९८ किलोवाट आवरको शक्तिशाली मोटर जडान गरिएको छ, जसले उत्कृष्ट पर्फर्मेन्स दिनेछ।

नेक्सन रिलोडेडलाई ७.२ किलोवाटको एसी चार्जर र ६० किलोवाटसम्मको फास्ट डिसी चार्जरबाट चार्ज गर्न सकिन्छ। सवारी चलाउँदा ऊर्जा बचत गर्न यसमा चार लेभलको ‘रिजेनेरेटिभ ब्रेकिङ सिस्टम’ समेत उपलब्ध गराइएको छ।

आकर्षक डिजाइन र नयाँ फिचरसहित आएको यो मोडलले नेपाली विद्युतीय सवारीको बजारमा टाटाको वर्चस्वलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। नाडा अटो शोमा टाटाको स्टलमा पुगेर ग्राहकले यसको अवलोकन र बुकिङ गर्न सक्नेछन्।