बैंकहरूको सहयोग ३६ करोड नाघ्यो, प्रधानमन्त्री कोषमा बढ्यो आर्थिक सहायता

Sep 02, 2026 05:50 PM Merolagani



भोटेकोशी तथा रसुवा बाढीपीडितहरूको उद्धार, राहत र पुनस्थापनाका लागि मुलुकका विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत ३६ करोड रुपैयाँभन्दा बढीको आर्थिक तथा भौतिक सहायता उपलब्ध गराएका छन्।

हालै गएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा जनजीवन सामान्य बनाउन बैंकहरूले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कोष, सञ्चालक समिति तथा कर्मचारीहरूको व्यक्तिगत योगदान समेत जुटाएर यो सहायता घोषणा गरेका हुन्। हालसम्म ग्लोबल आइएमई, नबिल, कुमारी, एनएमबि, एभरेष्ट, राष्ट्रिय वाणिज्य, प्राइम कमर्सियल, नेपाल बैंक, सिद्धार्थ, एनआईसी एशिया, प्रभु, माछापुच्छ्रे, साङ्ग्रिला डेभलपमेन्ट र मुक्तिनाथ विकास बैंकले संयुक्त रूपमा करिब ३६ करोड १४ लाख रुपैयाँ बराबरको नगद, प्राविधिक उपकरण तथा खाद्यान्न सामग्री सहयोगस्वरूप हस्तान्तरण गरिसकेका छन्।

 

विस्तृत विवरणअनुसार ग्लोबल आइएमई बैंकले बाढीपीडितका लागि सबैभन्दा पहिले ५ करोड रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेको छ। यसैगरी, नबिल बैंकले चौधरी फाउन्डेसनसँगको सहकार्यमा निकै ठूलाे आकारको १५ करोड रुपैयाँको राहत प्याकेज घोषणा गरेको छ, जसले प्रभावित क्षेत्रका बासिन्दालाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। कुमारी बैंकले ३ करोड ३९ लाख रुपैयाँको सहयोग गरेको छ, जसमा ३ करोड नगद बाहेक ३९ लाख बराबरका उद्धार तथा राहत कार्यमा अति आवश्यक पर्ने ड्रोन, जेनेरेटर र पावर बैंकजस्ता प्राविधिक सामग्रीहरू समेत समावेश गरिएको छ। एनएमबि बैंकले ३ करोड ५१ लाख रुपैयाँ नगद प्रदान गर्नुका साथै थप १० लाख रुपैयाँ बराबरको खाद्यान्न तथा अन्य अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको छ।

त्यसैगरी, एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ करोड ५१ लाख रुपैयाँ र बैंकका कर्मचारीहरूको स्वेच्छिक सहयोगबाट ६० लाख ५४ हजार ६ सय ५ रुपैयाँ संकलन गरी कुल ३ करोड ११ लाख ५४ हजार ६ सय ५ रुपैयाँ प्रधानमन्त्री कोषमा जम्मा गरेको छ। सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि बाढीपीडितको उद्धार तथा राहतका लागि ३ करोड रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ। प्राइम कमर्सियल बैंकले ३ करोड १ लाख रुपैयाँ नगदसहित ७ लाख रुपैयाँ बराबरको खाद्यान्न सामग्री उपलब्ध गराएको छ भने नेपाल बैंक लिमिटेडले पनि ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

सहयोग गर्ने क्रममा सिद्धार्थ बैंकले २ करोड ५१ लाख रुपैयाँ नगद प्रदान गरेको छ। एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वबाट २ करोड र सञ्चालक तथा कर्मचारीहरूको व्यक्तिगत सहयोगबाट २१ लाख गरी कुल २ करोड २१ लाख रुपैयाँ जम्मा गरेको छ। प्रभु बैंकले २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ भने माछापुच्छ्रे बैंकले २ करोड १ लाख रुपैयाँ नगद हस्तान्तरण गर्नुका साथै बाढी गए लगत्तै प्रभावित क्षेत्रमा खाद्यान्न तथा ओछ्यानका सामग्री पहिले नै पुर्याएको थियो। विकास बैंकतर्फ साङ्ग्रिला डेभलपमेन्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्वबाट ५० लाख र कर्मचारीहरूको तर्फबाट २० लाख गरी कुल ७० लाख रुपैयाँ सहयोग गरेको छ भने मुक्तिनाथ विकास बैंकले ५० लाख रुपैयाँ प्रदान गरेको छ।

 बैंकहरूले जुटाएको यो अधिकांश सहयोग सीधै संस्थाको नाफाबाट नभई सामाजिक उत्तरदायित्व कोष र कर्मचारी तथा सञ्चालकहरूको व्यक्तिगत चन्दा समेत जोडेर बनाइएको हो। बाढीबाट प्रभावित संरचनाहरूको पुनर्निर्माण र पीडित परिवारको पुनर्स्थापना गर्न यो रकमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। सरकारले स्थापना गरेको एकद्वार प्रणालीमार्फत राहत रकम संकलन तथा वितरण गर्ने कार्य जारी रहेकाले अन्य बाँकी बैंक तथा वित्तीय संस्थाहरूले पनि आगामी दिनमा थप सहयोग रकम घोषणा गर्ने तयारी गरिरहेका छन्।