बिहीबारको बजार ७५.८४ अंकले बढेर २८७०.६३ विन्दुमा पुगेको छ भने १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँ बढीको शेयर खरिदबिक्री भएको छ । सरकारले ल्याएको बजेट तथा मौद्रिक नीतिमा गरिएको व्यवस्था आजदेखि कार्यान्वयन हुन सुरु भएको छ । सरकारको बजार प्रतिको सकारात्मकता र मौद्रिक नीतिले लिएको लचकताको कारण नै बजारलाई हौसला मिलेको जानकारहरुको बुझाई छ ।
बैंकको घट्दो ब्याजदर र सुधारात्मक नीतिहरुले लगानीकर्ताको आत्मविश्वास बढाएको छ । यद्यपि बजारको माग अनुसार नीतिगत सुधार भएका छैनन । बैंक तथा वित्तीय संस्थालाई बजारमा लगानी गर्नका लागि सहजिकरण गर्ने, गैर आवासिय नेपालीलाई लगानीको वातावरण मिलाउने, बजारमा माग बढाउने नीति लिदै लगानी मैत्री वातावरण बनाउने लगायतका सुधारका कामहरु बाँकी नै रहेको छन् ।
सबै कुराको सहजता एकै पटक हुँदा बजार सन्तुलित हुने भन्दा पनि बबल बन्ने खतारा रहेको बजार विश्लेषक तथा लगानीकर्ता महेश रिजालले बताए । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिकाे समीक्षामा पनि नितिगत सुधार गर्न सक्छ । यसले गर्दा बजार सन्तुलन र अझ परिपक्क हुने र बुलको अवधि अझै धेरै रहने सम्भावना बढेको रिजालको बुझाई छ ।