बजारमा ११ महिनायताकै सर्वाधिक धेरै रकमको सेयर किनबेच भएको छ। बिहीबार १६ अर्ब ५९ करोड रुपैयाँको सेयर कारोबार भएको छ। यसअघि २०८१ भदौ ११ गते १८ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।

शेयर बजारप्रति सकारात्मक धारणा राख्ने गभर्नर डा.विश्व पौडेलले प्रस्तुत गरेको पहिलो मौद्रिक नीतिपछि बजार लगातार सकारात्मक लयमा अगाडि बढेको छ । मौद्रिक नीतिमा व्यक्तिगत मार्जिन कर्जालाई १५ करोडबाट २५ करोड रुपैयाँ पुर्याउने, लघुवित्त कम्पनीको १५ प्रतिशतको लाभांश दिन पाउने व्यवस्थापन पुनरावलोकन गरिने, पहिलो घर घर खरिद गर्दा ३ करोडसम्मको कर्जालाई रियल स्टेट कर्जामा गणना नहुने, न्यून व्याज भुक्तान गरी कर्जा पुनरतालिकीकरण तथा पुनर्संरचना गर्न दिने लगायतका प्रावधानले गर्दा शेयर बजार तरंगित भएको थियो।
असार मसान्तमा मौद्रिक नीति आए पनि मसान्तको प्रेसरले शेयर बजारमा दोस्रो कारोबार दिन गिरावट देखियो। तर नयाँ आर्थिक वर्षको पहिलो दिनबाटै बजारमा उछाल आउन शुरु भएको छ। शेयर लगानीकर्ता महेश रिजालले शेयर बजार मैत्री मौद्रिक नीतिकै असर स्वरुप बजारमा उछाल आएको बताउँछन् । बैंक तथा हाइड्रोपावर समूहका कम्पनीहरु उचालिँदा नेप्सेले पछिल्लो प्रतिरोध क्षेत्र पार गर्दै अघि बढेको उनले बताए । व्याजदर एकल अंकलमा आउनु, बैकिङ प्रणालीमा तरलता प्रशस्त हुनु जस्ता बजारलाई चाहिने तत्वहरु सबै पूरा भइसकेको अवस्थामा अझै बजारलाई सकारात्मक ढंगले मौद्रिक नीति सार्वजनिक भएपछि नेप्सेमा तेजी आएको बताउने धेरै लगानीकर्ता छन् ।
मौद्रिक नीतिमा व्याज दर करिडोरको तल्लो विन्दुलाई झन कम गरेका कारण बैंकहरुले निक्षेपमा दिने व्याज दर घटाएका छन् । राष्ट्र बैंकले नै बैंकमा पैसा राखेर व्याज खानु भन्दा लगानी गरेर पैसा कमाउ भनेकाले नै बजारमा पैसा ओइरिएको भन्ने लगानीकर्ताको बजारमा कमी छैन। सबैतिरबाट सकारात्मक माहौल रहेका कारण आइतबारको बजार पनि इन्ट्रा डे करेक्सन भएर नै बढ्नेमा लगानीकर्ता रिजाल आशावादी छन्। बिहीबार भन्दा बढी कारोबार रकमसहित आइतबारको बजार अगाडि बढेमा सानोतिनो प्रोफिट बुकिङलाई बजारले पचाइदिने उनले बताए। आइतबार बजार हरियोमा बन्द भएमा हप्ताभरि नै सकारात्मक रहने गरी अगाडि बढ्ने उनले आँकलन गरे। अबको नयाँ प्रतिरोध क्षेत्र ३ हजार नै हुन सक्ने उनले आँकलन गरे ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले गैर बैंकिङ सम्पत्ति सकार गरेको दुई वर्षसम्म सम्पत्तिबापत सिर्जना भएको रेगुलेटरी रिजर्भको रकमलाई पूरक पुँजीमा गणना गर्न सकिने व्यवस्था गरेको छ। बैंकहरुको निष्कृय कर्जा चुलिएर गैर बैकिङ सम्पत्ति थुप्रिएका बेला राष्ट्र बैंकको यस्तो नीतिले बैंकहरुले कर्जा लगानी बढाउन सक्नेछन्।
प्राविधिक विश्लेषक सुवासचन्द्र ढुंगाना प्राविधिक रुपमा बजार सप्लाई जोनमा छिरेको बताउँछन्। लगानीकर्ताको आत्मविश्वास र कारोबार रकम हेर्दाखेरि त्यो सप्लाई जोनको शेयर पचाएर अगाडि बढने सम्भावना पनि त्यतिकै रहेको उनको विश्लेषण छ । ‘अब अर्को कारोबारमा बजारमा सप्लाई पक्कै आउँछ । इन्ट्रा डेमै केही करेक्सन सहित बजार माथि गयो भने झनै बजार बलियो हुन्छ । यो भन्दा अगाडिको र्यालीमा पनि इन्ट्रा डे करेक्सन हुँदै अगाडि बढेको थियो । बजारमा सबैतिर माहौल बनिरहेको बेला यदि यो सप्लाई पचाएर अगाडि बढेमा अर्को सप्लाई जोन भनेको झन्डै ३ हजारदेखि ३ हजार ५० को रेन्जमा मात्रै करेक्सन आउन सक्ने देखिन्छ। अहिलेसम्म बजार स्ट्रङ नै देखिन्छ, अपट्रेन्डमै छ । लङ टर्मको साथै मिड टर्म र सर्ट टर्ममा पनि बजार बुलिस नै देखिन्छ ।’–विश्लेषक ढुंगानाले भने।
उनले आधारभूत रुपमा बजार यो भन्दा अगाडि नै अहिलेको विन्दुमा आइसक्नुपर्ने बताए । ‘मौद्रिक नीतिलाई कुर्नै पर्दैन थियो । मौद्रिक नीति आएपछि भने लगानीकर्ताको एक किसिमको कन्फिडेन्स बढेको छ । व्याजदर, तरलताको अवस्था, मौद्रिक नीति, बजेट सबै सकारात्मक नै छन् । अब चौमासिक वित्तीय विवरणको कुरा छ । बैंकको शेयर मूल्यको ट्रेन्ड हेर्दा पनि पहिलाजस्तो बिग्रिदैन भन्ने नै छ ।’–उनले अगाडि भने ।
पुँजीकोषको दबाबमा रहेका बैंकहरुलाई पुँजी वृद्धि गर्न दिने बुँदा मौद्रिक नीतिमा छ। मौद्रिक नीतिको यो व्यवस्थाले पुँजी कोषको दबाबमा रहेक बैंक तथा वित्तीय संस्थालाई नयाँ व्यवसाय विस्तार र सेयरधनीलाई लाभांश वितरण गर्न नसक्ने अवस्थामा रहेका बैंकहरुलाई राहत पुगेको छ । राष्ट्र बैंकको यही व्यवस्थाका कारण पछिल्लो समय वाणिज्य बैंकको शेयरमा समेत लगानीकर्ताको आकर्षण बढेको छ । मौद्रिक नीति सार्वजनिक भएपछि अहिले कारोबार रकममा हाइड्रोपावरपछि धेरै कारोबार हुने समूहमा वाणिज्य बैंक समूह परेको छ । वाणिज्य बैंक समूहका कम्पनीहरुको शेयर मूल्य थोरै मात्र बढ्दा पनि नेप्से परिसूचक बढ्न अहम भूमिका खेल्ने गरेको छ ।
अहिले बैंकको कर्जाकै ब्याजदर एकल अंकमा छ। वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर ७.९९ प्रतिशत छ। लगानीयोग्य रकम थुप्रिएकाले बैंकहरुले बोलाएरै ऋणीलाई कर्जा दिइरहेका छन्। लगानीको उकरकण नपाउँदा म्युचुअल फण्डदेखि इन्स्योरेन्स कम्पनीहरुले सेयर बजारमा निरन्तर लगानी बढाइरहेका छन्। ब्याजदर घटेका कारण सेयर बजारमा बैंक तथा वित्तीय संस्थाहरुले नै ऋण लगानी बढाएका छन्।
गत आर्थिक वर्ष ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले ३८ अर्ब ५७ करोड रुपैयाँ सेयर धितो कर्जा लगानी गरेका छन्। यो रकम गत असारभन्दा ४२.८ प्रतिशत बढी हो। असारसम्म सेयर धितोमा बैंकहरुको ९० अर्ब ९ करोड रुपैयाँ ऋण लगानी रहेकामा जेठसम्म आइपुग्दा १ खर्ब २८ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ।