बैंक मौज्दात घटाउँदै शेयरमा लगानी बढाउँदै म्युचुअल फण्डहरु

Mar 30, 2026 06:14 AM MeroLagani



नेपालमा सञ्चालित म्युचुअल फण्डहरूले फागुन महिनामा आफ्नो लगानी रणनीतिमा उल्लेख्य परिवर्तन गरेका छन्। सार्वजनिक वित्तीय विवरणअनुसार, फण्डहरूले बैंकमा थुप्रिएको नगदलाई परिचालन गर्दै दोस्रो बजारका सूचीकृत शेयरमा आफ्नो उपस्थिति बलियो बनाउने रणनीति लिएका हुन्।

तथ्यांक अनुसार माघ महिनाको तुलनामा फागुनमा सूचीकृत शेयरमा म्युचुअल फण्डहरूको लगानी ९.४८ प्रतिशतले बढेको छ। माघमा ५८ अर्ब ३२ करोड रहेको यस्तो लगानी फागुनमा बढेर ६३ अर्ब ८५ करोड पुगेको छ। यसले बजार ओरालो लागेको वा स्थिर रहेको समयमा सस्तो मूल्यमा शेयर उठाउने रणनीति फण्डहरूले अपनाएको संकेत गर्छ। विशेषगरी नेपाल लाइफ समृद्धि लगानी योजनाले आफ्नो शेयर लगानी १ सय ७६ प्रतिशतले बढाउनुले यसको आक्रामक मुड प्रस्ट पार्छ।


फण्डहरूले आफ्नो रणनीति परिवर्तन गर्दै बैंक मौज्दात घटाउन थालेका छन्। फागुनमा फण्डहरूको कुल बैंक ब्यालेन्स ७.४० प्रतिशतले घटेर १० अर्ब ९८ करोड रुपैयाँमा झरेको छ। बैंकमा पैसा राखेर ब्याज खानुभन्दा शेयर बजारको उतारचढावबाट लाभ लिनु बढी बुद्धिमानी हुने विश्लेषणका साथ फण्डहरूले ‘क्यास’ लाई ‘इक्विटी’ मा रूपान्तरण गरिरहेका छन्।

धेरैजसो फण्डहरूले आफ्नो प्रतिइकाइ खुद सम्पत्ति मूल्य ((न्याभ) लाई १० रुपैयाँको आधार मूल्यभन्दा माथि टिकाउन सफल भएका छन्। ५६ फण्डमध्ये अधिकांशको न्याभ सकारात्मक हुनुले उनीहरूले ‘प्रोफिट बुकिङ’ र ’पोर्टफोलियो रिब्यालेन्सिङ’ मा ध्यान दिएको देखिन्छ। प्रभु स्मार्ट फण्ड र एनआईबीएल सहभागिता फण्ड जस्ता योजनाहरूले न्याभमा गरेको सुधारले उनीहरूको छनोटपूर्ण लगानी रणनीति सफल भएको देखिन्छ।

बजारको जोखिम न्यूनीकरणका लागि केही फण्डहरूले अझै पनि मुद्दती निक्षेपलाई महत्व दिएका छन्। एनएमबी हाइब्रिड फन्ड एल–२ ले २० करोड ९० लाख रुपैयाँ र एनआईबीएल सहभागिता फण्डले ७८ करोड ८८ लाख रुपैयाँ ‘बैंक ब्यालेन्स’ शीर्षकमा राख्नुले उनीहरूले ‘रक्षात्मक’ रणनीति पनि सँगै लगेको बुझिन्छ।

नेप्सेमा सूचीकृत नभएका कम्पनीकाे शेयरमा फण्डहरूको लगानी २० प्रतिशतले घट्नुले उनीहरूले तरल सम्पत्तिमा बढी जोड दिएको देखिन्छ। साधारण शेयर वा हकप्रद शेयरमा फसेको पुँजीलाई दोस्रो बजारमा चलायमान बनाउने उद्देश्यले यस्तो लगानी घटेको हुन सक्छ।

समग्रमा हेर्दा, म्युचुअल फण्डहरू अहिले ‘वेट एण्ड वाच’ को अवस्थाबाट निस्किएर बजारमा ‘सक्रिय लगानीकर्ता’ को भूमिकामा देखिएका छन्। बैंकको निक्षेप घटाएर शेयरमा लगानी बढाउनुले आगामी दिनमा बजार बढ्नेमा फण्ड म्यानेजरहरू विश्वस्त रहेको देखिन्छ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।