पहिलो दिन आज अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याअन्तर्गत अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरबी भाषा विषयको परीक्षा हुँदैछ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसपटक एसईईमा ५ लाख १२ हजार ४ सय ७१ जना विद्यार्थी सहभागी हुँदैछन्। एसईई परीक्षाका लागि देशभर १ हजार ९ सय ६५ वटा र जापानमा एउटा गरी कुल १ हजार ९ सय ६६ परीक्षा केन्द्र तोकिएका छन्। जम्मा ११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । जापानमा रहेको केन्द्रबाट भने २३ जना विद्यार्थी सहभागी हुनेछन्।

यस वर्ष ग्रेड वृद्धिका लागि ६५ हजार ८ सय ९५ जना विद्यार्थी पनि परीक्षामा सहभागी हुँदैछन्। यस वर्षको एसईई आजदेखि सुरु भई यही चैत २९ गतेसम्म सञ्चालन हुनेछ ।
परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसईई परीक्षाको नतिजा एक महिनाभित्रै प्रकाशन गर्ने लक्ष्यसहित तयारी तीव्र पारेको छ। सरकारले छिटो नतिजा प्रकाशन गर्न निर्देशन दिएकोले सोहीअनुसार तयारी गरिएको हो।