बजारमा एक हप्तामै झण्डै २०० अंकको गिरावट आएपछि लगानीकर्ताका छुट्टाछुट्टै समूहले अर्थमन्त्रीलाई भेटेर तत्काल 'सेन्टिमेन्ट' सुधार्ने कदम चाल्न आग्रह गरेका हुन्। तर, भेटमा अर्थमन्त्री वाग्लेले लगानीकर्तालाई तत्कालै कुनै ठुलो राहत वा 'सर्ट-टर्म' निर्णयको आशा नगर्न संकेत दिएका छन्। उनले आफूहरू ५ वर्षको कार्यकालका लागि आएको र १५ वर्षे दीर्घकालीन भिजनका साथ काम गर्ने भन्दै हतारमा कुनै पनि नीतिगत निर्णय नगर्ने स्पष्ट पारेका छन्।
'अहिले घटेकै भरमा हतारमा निर्णय गर्दैनौँ' – अर्थमन्त्री
लामो समयदेखि शेयर बजार सुधारको आन्दोलनमा सक्रिय लगानीकर्ता तिलक कोइरालाले मंगलबार अर्थमन्त्री वाग्लेसँग एक्लै भेट गरी बजारको अवस्थाबारे जानकारी गराएका थिए। भेटमा अर्थमन्त्रीको भनाइ उद्धृत गर्दै कोइरालाले भने, "अर्थमन्त्रीले अहिले हामी ५ वर्षका लागि आएका हौँ, तर हाम्रो १५ वर्षको भिजन छ भन्नुभयो। उहाँले अहिले बजारको मूल्य घट्यो भन्दैमा तत्कालै कुनै निर्णय गरिहाल्ने हतारोमा हामी छैनौँ र त्यसो गर्नु राम्रो पनि हुँदैन भन्नुभयो।"
अर्थमन्त्रीले रास्वपाको 'वाचा पत्र' नै आफ्नो मुख्य मार्गचित्र भएको र त्यसमा उल्लेख गरिएका कुराहरू अक्षरशः कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्याएका थिए। यद्यपि, कोइरालाले भने अर्थमन्त्रीलाई बजारको संवेदनशीलता बुझ्न भनेका दिएका थिए। "मैले स्पष्ट भनेँ– रास्वपाले पाएको ६०-७० प्रतिशत मत शेयर लगानीकर्ताकै हो। यदि तपाईंहरूले कामबाट विश्वास दिलाउन सक्नुभएन भने यो 'क्रिटिकल' अवस्थाले तपाईंहरूको लोकप्रियतालाई पनि असर गर्छ," कोइरालाले भने।
गोपाल स्वामी र हरि ढकालको समूहसँगको संवाद
मंगलबार नै रास्वपाका सांसद हरि ढकाल र लगानीकर्ता गोपाल स्वामी लगायतको अर्को समूहले पनि अर्थमन्त्रीलाई भेटेको थियो। उक्त भेटमा अर्थमन्त्री बजारको प्रविधि र संरचनागत सुधारमा बढी केन्द्रित देखिए। स्वामीका अनुसार अर्थमन्त्रीले नेपाली शेयर बजारलाई छिमेकी राष्ट्र भारतको जस्तै सुदृढ र पारदर्शी बनाउने आश्वासन दिएका छन्। "उहाँले म कुर्सीमा बसेको त भर्खर एक हप्ता पनि भएको छैन, लगानीकर्ताहरू डराउनु पर्दैन भन्नुभयो," स्वामीले सुनाए। अर्थमन्त्रीले बुधवार नै अर्थ सचिव र फ्रन्टलाइन नियामक निकायका प्रमुखहरूलाई बोलाएर बजारको समस्याबारे गम्भीर छलफल गर्ने र वाचा पत्रका बुँदाहरू कार्यान्वयनको मोडालिटी तयार पार्ने बताएका थिए।
'चुपचाप घण्टी छाप, पोर्टफोलियो हाफ': बजारको कडा 'रिजेक्सन'
अर्थमन्त्रीले ५ वर्षे कार्यकालको कुरा गरिरहँदा आम लगानीकर्ताहरू भने आफ्नो दैनिक गुम्दै गएको सम्पत्ति हेरेर आक्रोशित छन्। रास्वपा सरकारमा सहभागी भए यता शेयर बजारले लगानीकर्तालाई 'डबल सेन्चुरी' (करिब १८२ अंक) को झट्का दिइसकेको छ। गत मंगलबार २९६०.४० अंकको उच्च विन्दुमा पुगेको नेप्से सूचक बुधवार सम्म आइपुग्दा २७७६.३६ अंकमा ओर्लिएको छ।
बजारको यो गिरावटलाई धेरैले रास्वपाप्रतिको 'रिजेक्सन' का रूपमा व्याख्या गरेका छन्। सामाजिक सञ्जालमा व्यङ्ग्य गर्दै लगानीकर्ताहरूले लेखिरहेका छन्, "चुपचाप घण्टी छाप, लगानीकर्ताको पोर्टफोलियो हाफ।"
आक्रोशित लगानीकर्ता र 'वेट एण्ड सी' मा सरकार
अहिलेको गिरावटले ७० लाखभन्दा बढी लगानीकर्ता आबद्ध भएको क्षेत्रलाई ठुलो धक्का पुर्याएको छ। लगानीकर्ताहरूको एउटै माग छ। सरकारले तत्काल शेयर बजारको समस्यालाई सम्बोधन गरोस् र मनोबल उकास्ने ठोस कदम चालोस्। तिलक कोइरालाले अर्थमन्त्रीलाई बुधबारको भेटमा बुझाएको १७-१८ बुँदे कार्य योजनामा मन्त्री स्तरीय निर्णयबाटै धेरै कुरा सुधार गर्न सकिने उल्लेख छ। तर, अर्थमन्त्रीले भने 'हतारमा निर्णय नगर्ने' अडान लिएका छन्। यसले सरकार र लगानीकर्ताबिचको दूरी बढाएको छ।
यदि सरकारले आफ्ना बाचा अनुसारका नीतिगत सुधारहरू तत्काल अघि बढाएन भने 'घण्टी' प्रतिको विश्वास पनि पोर्टफोलियोको मूल्य जस्तै घट्दै जाने निश्चित रहेको कोइराला बताउँछन्। यता लगानीकर्ताहरूमा अर्थमन्त्रीले भने जस्तो ५ वर्षसम्म कुर्न सक्ने धैर्यता अहिलेको 'प्यानिक' बजारमा देखिएको छैन।