पहिलो पटक ४८ देशले प्रतिस्पर्धा गर्न लागेको यो विश्वकपमा अर्जेण्टिना, ब्राजील, जर्मनी, स्पेन, फ्रान्स, पोर्चुगल आदी देशहरुलाई उपाधिको मुख्य दावेदार मानिएको छ ।

यसैक्रममा विश्व फुटवल महासंघ (फिफा)ले जारी गरेको पछिल्लो ‘र्याङकिङ’ सूचीले भने मुख्य दावेदार मानिएको अर्जेण्टिना र उसका समर्थकहरुलाई नराम्रोसँग झस्काएको छ । र, उनीहरु अहिले आफू आफूमै प्रश्न गरिरहेका छन्—के मेस्सीको टीमले ‘रेकर्ड ब्रेक’ गर्दै फाइनल जित्ला ? फुटवलका विश्लेषकदेखि ‘खेल क्षेत्रका पण्डित’हरुको समेत मुख बन्द गर्न सक्ला ? अनि खेल क्षेत्रमा रहेको अन्ध विश्वासको घेरालाई तोड्न सक्ला ?
अर्जेण्टिना समर्थकहरुलाई झस्काउने गरि यो प्रश्न किन उठिरहेको छ भने केही दिन अघि फिफाले सार्वजनिक गरेको नयाँ विश्व वरियतामा अर्जेण्टिना फ्रान्स र स्पेनलाई उछिनेर १ नं सूचीमा पुगेको छ ।
स्पेन २ नंमा कायम छ भने फ्रान्स तेस्रो वरियतामा रहेको छ । जबकी केही दिन अघिसम्म अर्जेण्टिना तेस्रो वरियतामा थियो भने फ्रान्स पहिलो वरियतामा थियो । केही दिनको अन्तरमा फ्रान्स र अर्जेण्टिना पहिलोबाट तेस्रो र तेस्रोबाट पहिलो वरियतामा पुगेका छन् । स्पेन भने २ नं यथावत छ ।
वरियतामा पहिलो नम्बरमा पुगेपछि अर्जेण्टिना र अर्जेण्टिना समर्थक उत्साहित हुनु पर्ने हो । तर, उनीहरु यतिबेला भयानक चिन्तामा छन् र कतिपय खेल विश्लेषकहरु वरियताको पहिलो सूचीमा पुग्नु अर्जेण्टिनाको लागि ‘खतराको घण्टी’ भएको दावी गरिरहेका छन् ।
किन ?
यसको पछाडि तीन दशकभन्दा लामो इतिहासले सृजना गरेको तथ्याँक र मान्यता रहेको छ । फिफाले सन् १९९३ देखि विश्व फुटवलको वरियता राख्न थालेको हो । र, त्यसयता भएका ८ वटा विश्वकपमध्ये अहिलेसम्म विश्व कप शुरु हुने बेलामा वरियतामा १ नम्बर रहेको कुनै पनि देशले विश्वकप जितेको ‘रेकर्ड’ छैन । बरु तत्कालिन समयमा विश्व वरियतामा १८ औं स्थानमा फ्रान्सले सन् १९९८ मा र तत्कालिन समयमा वरियतामा १३ औं स्थानमा रहेको इटालीले सन् २००६ को विश्वकप जिते । तर, विश्व वरियतामा १ नंमा रहेको टोलीले अहिलेसम्म विश्वकप जितेको रेकर्ड नै छैन । पछिल्लो विश्वकप अर्थात् सन् २०२२ मा कतारमा भएको विश्वकप अर्जेण्टिनाले जितेको थियो र त्यतिबेला उ वरियताको दोस्रो नम्बरमा थियो ।
विश्व वरियतामा १ नं मा रहेका बेला सन् १९९८ मा ब्राजिल फाइनलमा पुगेर फ्रान्ससँग हारेको थियो । बाँकी अन्य विश्वकपमा त वरियता सूचीको १ नंमा रहेको देशहरु क्वाटरफाइनल भन्दा अगाडि गएका छैनन् । धेरैजसो अवस्थामा समुह चरणबाटै बाहिरिएका छन् । त्यसले गर्दा ‘१ नंको वरियता, सधै पराजित’ भन्ने मान्यताको विकास भएको छ । यसपटक लियोनल मेस्सीको नेतृत्वमा रहेको अर्जेण्टिनाको टोलीले त्यो मान्यता, रेकर्ड तोडेर उपाधी जित्ला ? त्यसकाे लागि भने केही समय पर्खनै पर्छ ।