नवनियुक्त अध्यक्ष भण्डारीले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। अर्थ मन्त्रालयको तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका भण्डारीलाई निर्वतमान अध्यक्ष शोभाकान्त पौडेल बाहिरिएपछि नयाँ जिम्मेवारी दिइएको हो।
अध्यक्ष नियुक्तिको प्रक्रियासँगै बैंकको सञ्चालक समितिमा अन्य सदस्यहरूको पनि हेरफेर भएको छ। यसअघि अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक रहेका अमृत लम्साल र सर्वसाधारण शेयरधनी (कर्मचारी सञ्चय कोष) को तर्फबाट सञ्चालक रहेका जीवन कुमार कट्वाल समितिबाट बिदा भएका छन्।
अब बैंकको सञ्चालक समितिमा नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट पिताम्बर भण्डारीसँगै देवराज जोशीले प्रतिनिधित्व गर्नेछन्। त्यस्तै, कर्मचारी सञ्चय कोषको तर्फबाट सुवाष खड्का नयाँ सञ्चालकका रूपमा नियुक्त भएका छन्। यस परिवर्तनसँगै नेपाल बैंकको नेतृत्व र सञ्चालक समितिले पूर्णता पाएको छ।