नागढुङ्गा नजिकै पातले वनमा सडक भासियोः सुरुङमार्गबाट सवारी साधन डाइभर्ट, ट्याङ्करलाई एकतर्फी अनुमति

Sep 02, 2026 11:49 AM merolagani



पृथ्वी राजमार्गको महत्त्वपूर्ण खण्ड नागढुङ्गा नजिकै रहेको पातले वनमा सडक भासिएपछि सवारी आवागमन प्रभावित भएको छ।

आज (भदौ १७ गते) सडकको एक भाग भासिएका कारण राजधानी भित्रिने र बाहिरिने सवारी साधन सञ्चालनमा समस्या उत्पन्न भएको सडक विभागले जनाएको छ ।

सडक विभागका अनुसार, सडक भासिएको स्थानबाट अहिले पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर र दुई पाङ्ग्रे सवारी साधनहरूलाई मात्र एकतर्फी रूपमा आवतजावत गर्न दिइएको छ। अन्य सबै प्रकारका सवारी साधनहरूलाई भने वैकल्पिक व्यवस्था स्वरूप नागढुङ्गा सुरुङमार्ग भएर पठाउने प्रबन्ध मिलाइएको छ।

सडक भासिएको जानकारी पाउनासाथ विभागको प्राविधिक टोली निरीक्षणका लागि घटनास्थलमा पुगिसकेको छ। टोलीले सडक भासिनुको कारण र त्यसको मर्मतका लागि आवश्यक प्राविधिक पक्षको अध्ययन गरिरहेको छ।

‘प्राविधिक टोलीले अध्ययन गरिरहेको छ, अध्ययन प्रतिवेदनका आधारमा तत्काल मर्मत कार्य सुरु गरिनेछ,’ सडक विभागका एक अधिकारीले भने, ‘हाम्रो प्रयास यातायातलाई छिटोभन्दा छिटो पूर्ण रूपमा सुचारु गराउनु हो।’

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गहरूमा क्षति पुगिरहेका बेला काठमाडौँको मुख्य नाकामै सडक भासिएपछि ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ। सुरुङमार्ग सञ्चालनमा रहेकाले साना र ठूला सवारी साधनलाई केही राहत मिले पनि ट्याङ्कर जस्ता संवेदनशील सवारीका लागि भने भासिएकै सडक खण्ड प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ। विभागले यात्रु तथा चालकहरूलाई धैर्य रहन र ट्राफिक प्रहरीको निर्देशन पालना गर्न आग्रह गरेको छ।