विगत दुई दिनमा पूर्व ऊर्जा मन्त्री दीपक खड्कालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधको आधारमा सीआईबीले पक्राउ गरेर अनुसन्धान थालेको छ भने विवादास्पद व्यापारी दीपक भट्टलाई अध्यागमन विभागले कालो सूचीमा राखेको छ । उनको पासपोर्ट अहिले रोक्का राखिएको छ ।
नयाँ सरकार आएँसँगै सम्पत्ति शुद्धीकरणको आरोप लागेका व्यक्तिहरु धमाधम समातिनुलाई नेपाल ‘ग्रे लिस्ट’बाट निस्कन गरेको प्रयासको रुपमा अर्थविद्हरूले यसलाई सकारात्मक रुपमा लिएका छन्। लामो समय बैकिङ क्षेत्रमा क्रियाशील सानिमा बैंकका पूर्व कार्यकारी अधिकृत भुवन दाहालले नेपाल मनि लन्डरिङकै कारण ग्रे लिस्टमा परेको जनाउँदै गैरकानुनी कारोवारलाई कानुनी दायरामा ल्याउनु सकारात्मक प्रयास भएको बताए ।
‘जेनजी आन्दोलनका दौरान नेताका घरमा लाखौ नेपाली रुपैयाँ र विदेशी मुद्रा भेटियो। अब त्यसलाई कानुनको दायरामा ल्याउने प्रयास नयाँ सरकारले गरिराखेकाे छ । अहिलेको एक्सन हेर्दा सरकारको प्रतिबद्धता राम्रो छ ।’–पूर्व बैंकर दाहालले भने । सरकारले राम्रो काम गर्न खोज्दा पनि पूर्व तयारी बिना हतारको काम जस्तो देखिएको उनले बताए ।
सरकार बनेको भोलिपल्टै शीर्षस्थ नेताहरु समातिनु तथा अहिले पछिल्लो दिनमा सम्पत्ति शुद्धीकरणको आरोपमा केही व्यवसायीहरु समातिनुलाई उनले हतारमा गरिएको एक्सनको संज्ञा दिए ।

‘सरकारलाई सल्लाह दिने सल्लाहकारहरू चाहिँ अलि परिपक्व नभएको हो कि ?–उनले अगाडि भने– ‘एक्सन लिएको राम्रो तर अहिले जस्तो केटाकेटी पाराले कच्चा तवरले एक्सन लिनुभएन ।’
झन्डै दुई तिहाई बहुमतको सरकार बनेपछि जनताबाट सरकारले धेरै अपेक्षा गरेका छन्। सरकारको गतिविधिले पुँजी बजार डेढ सय भन्दा बढीले घटिसकेको छ । सरकारको राम्रो या नराम्रो क्रियाकलापले पुँजी बजारले तुरुन्तै प्रतिक्रिया दिने गर्दछ । सरकारले एक्सन लिनु अघि राम्रोसँगै तयारी गर्नुपर्नेमा उनले जोड दिए । जनताले ५ वर्षको लागि चुनेको सरकार भएकोले एक दुई दिन ढिला होस् तर पक्का काम हुनुपर्नेमा उनले जोड दिए ।
‘आरोपीलाई समात्नु अघि परिपक्व पाराले गरौं ताकि भोलि अदालतमा गयो भने पनि जित्ने नै भनेर जाऔं । कच्चा खेल नखेलौं, नतिजा परिणाममुखी आउने गरी जाऔं’–दाहालले भने ।
अहिलेको सरकारमा अधिकांश युवाहरु समेटिएका छन् । ‘अनुभवले खारिएका वृद्ध व्यक्तिहरुकोे अनुभवलाई पनि युवा जोशसँग समिश्रण गरियो भने त्यसले राम्रो नतिजा दिन्छ ।–उनले भने ।
गृह मन्त्री प्रहरी जवानको लागि कपडा कारखाना खोल्ने, शिक्षा मन्त्री ब्रिज कोर्स बन्द गर्ने जस्ता कुराहरु गर्दै हिंडेका छन् । सरकारले उद्योग चलाउँदा फेल खाएको विगतको उदाहरण रहेको बताउँदै उनले ब्रिज कोर्स चलाउनु कुनै गैर कानुनी नभएकाले समय दिएर मात्रै बन्द गरिनुपर्छ। ‘यो सरकारले गर्न खोजेको कुरामा एकदमै समर्थन छ, तर अलिकति हतार पाराले काम भइराखेको जस्तो लाग्छ। हतार गर्नु पर्दैन, १ सय मिटरको दौड होइन, पाँच वर्षकोे म्याराथन हो । पाँच वर्षको लागि जनताले जिताएका छन्। आज र भोलि नै अनिल कपूर पाराले काम गर्नु पर्दैन, परिपक्व पाराले काम गर्दा हुन्छ ।’–उनले भने ।
परिपक्व पाराले काम नगर्दाको परिणाम बुधबार शेयर बजार बुधबार ७४ अंकले झर्यो भने सरकार गठन भएपछिको चार कारोबार दिनमा तीन कारोबार दिन ठूलो अंंकले झरेको छ ।
सरकारको काम गराई कच्चा भए पनि देशका शक्तिशाली व्यक्तिहरूविरुद्ध पनि एक्सन लिन सक्षम छ भन्ने सन्देश अन्तर्राष्ट्रिय समुदायमा पुगेको छ । नेपाल ग्रे लिस्टमा पर्नुको एउटा मुख्य कारण ‘राजनीतिक संरक्षणमा हुने वित्तीय अपराध’ र ‘कानुन कार्यान्वयनमा फितलोपन’ हो। यदि दीपक भट्ट, दीपक खड्का माथिको कारबाही निष्पक्ष र पारदर्शी ढंगले अगाडि बढ्यो भने, यसले नेपालको अनुसन्धान निकायहरू स्वायत्त र प्रभावशाली छन् भन्ने प्रमाणित गर्छ। ठूला भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणका मुद्दाहरूमा भएको प्रगतिलाई नेपालले आफ्नो ‘एक्सन प्लान’ को सफलताको रूपमा आगामी एफएटीएफको ब्रिफिङमा गर्न सक्छ र नेपाललाई ‘ब्ल्याक लिस्ट’ बाट जोगाउन र ’ग्रे लिस्ट’ बाट चाँडो निस्कन मद्दत गर्न सक्नेमा अर्थविद्हरु ढुक्क छन् ।